Date
मङ्ल, पुस १५, २०८२
Tue, December 30, 2025
घर ब्लग पृष्ठ 3

कांग्रेस महामन्त्री गगन थापा र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबिच घोचपेच

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबिच घोचपेच भएको छ ।

नेपाली कांग्रेस ओखलढुंगाको सम्मेलनमा महामन्त्री थापा र मुख्यमन्त्री कार्की घोचपेचमा उत्रिएका हुन् । कार्कीले महामन्त्री थापालाई लक्षित गर्दै आफू मुख्यमन्त्री बनेको नपचेको बताए ।

‘नेपाली कांग्रेसबाट अरुले नै लगिसकेको मुख्यमन्त्री खोसेर ल्याउँदा केही मानिसहरुलाई पचेन । बमिट आयो, हुटहुटी आयो,’ उनले भने । कांग्रेस शिर उँचो बनाउन विद्रोह गरेको भन्दै आफू पार्टीको शिर निहुरिन नदिने कार्कीले बताए ।

‘नेपाली कांग्रेसको इज्जत बढाउने साथीहरुको शिर उँचो बनाउन ज्यान दिन तयार भएको म एउटा योद्धा कारबाही हुन्छ भन्ने कुरासँग डराउँदैन थिएँ । त्यस कारण विद्रोह गरेको हो । यो मुख्यमन्त्रीले कांग्रेसको शिर निहुरिन दिँदैन,’ उनले भने ।

सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेपछि एमालेसँग मिलेर कार्की मुख्यमन्त्री बनेका थिए ।  कांग्रेस नेता शेखर कोइरालाको आड कार्कीले गरेको विद्रोहमा महामन्त्री थापाको साथ थिएन ।

साथै सम्मेलनमा मुख्यमन्त्री कार्कीले महामन्त्रीहरुमा परिपक्ता नदेखिँदा पार्टीमा द्वन्द्व सिर्जना भएको आरोप पनि लगाए । ‘सभापतिले काम गरिराख्नु भएको छ । महामन्त्रीको परिपक्ता देखिराखिएको छैन,’ उनले भने, ‘महामन्त्रीले विद्रोही कार्यक्रम गर्दै हिँड्नुहुन्छ । महामन्त्रीले जिल्ला–जिल्ला गाउँ–गाउँका र केन्द्रका द्वन्द्व व्यवस्थापन गर्ने हो । नकि द्वन्द्व सिर्जना गर्ने होइन ।’

सभापति शेरबहादुर देउवालाई सम्मानपूर्वक बिदाइ गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड थियो । ‘आदरणीय शेखर दाइ र गगनजीलाई पनि भन्न चाहन्छु । सभापतिको सम्मान साथ बिदाइ गरिदियौँ । पार्टीलाई एक ढिक्का बनाएर भोलि जनताको कांग्रेस बनाऔँ,’ उनले भने,‘ जनताको बिचमा कांग्रेसलाई विभाजित गराएर कांग्रेस बलियो हुँदैन । घर जलेको खरानीको नेतृत्व गर्छु भनेर सपना नदेख्नुहोस् । घर बलियो बनाएर सपना देख्नुहोस् ।’

मुख्यमन्त्री कार्कीपछि बोलेका महामन्त्री थापाले पनि घुमाउरो तरिकाले त्यसको जवाफ दिए । ‘हामी ८४ डम्फुको पछाडि लाग्ने होइन । जिम्मेवारी पाएको वडाध्यक्ष होस्, जिम्मा पाएको मेयर होस्, जिम्मा पाएको सांसद होस् ,’ महामन्त्री थापाले भने, ‘जिम्मा पाएको मेयर होस वा जिम्मा पाएको मुख्यमन्त्री होस् । यो बेलामा जिम्मेवार बन्ने हो । धेरै छाडा कुरा गर्ने
होइन । आफूले पाएको जिम्मा पुरा गर्ने ।’

त्यसको आधारमा भोलि मत माग्न जाने अवस्था निर्माण गर्नुपर्ने उनको भनाइ थियो । ‘प्रत्येकले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गरौँ । जनताले प्रत्येक पटक जिम्मा पुरा गरेर आएको कांग्रेसलाई पुरस्कृत गरेका छन् । फेरि गर्ने छन् । चिन्ता ८४ को होइन ८० को हो । चिन्ता ८१ को हो । चिन्ता अहिलेको हो । आजको हो,’ उनले भने ।

यस्तै महामन्त्री थापाले बाहिरी हल्लाबाट कांग्रेसलाई अलमलिने छुट नभएको बताए । ‘एमाले र माओवादी अलमलिए फरक पर्दैन । कांग्रेस अलमलियो भने त्यसको मूल्य सिंगो देशले व्यहोर्नुपर्छ । त्यसैले हामीसँग अलमलिने सुविधा छैन  ।

साँच्चै नारायणहिटी दरबार हत्याकाण्ड छानबिन होला त ?

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पुगिसकेको छ । वि.स. ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो ।

राजदरबारको अति सुरक्षित स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको थियो । सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन ।

दरबार हत्या प्रकरण अहिले पनि आम नेपालीले बिर्सिन नसक्ने घटनाको रूपमा दर्ज छ । यस प्रकरणमा विभिन्न तर्क पेस भएपनि हत्याको चुरो अहिलेसम्म सुल्झिन सकेको छैन ।

उक्त हत्याकाण्डबारे फेरि चर्चा सुरु भएको छ । दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ बहस सुरु गराइदिएका हुन् ।

रहस्यमयी दरबार हत्या प्रकरणमा तत्कालीन राजसंस्थाले गरेको अनुसन्धान पनि विश्वसनीय बन्न नसक्दा यो विषय थप रहस्यमयी बनिरहेको छ । यस्तोमा धेरैले दरबार हत्या प्रकरणमा पूर्वराजा शाहलाई जोडेर हेर्ने र उनीमाथि आक्षेप लगाउने गरेको पाइन्छ ।

पुर्वराजा शाहले दरबार हत्या प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र जबरजस्त जोड्न खोजिएको बताएका छन् ।
गत शनिबार वीरगञ्ज पुगेका पूर्वराजा शाह भने– ‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिइरहेको छौँ । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’

ज्ञानेन्द्रको बोलीसँगै इतिहास बनिसकेको एउटा पुस्ताले लगभग बिर्सिसकेको दरबार हत्याकाण्ड २२ वर्षपछि फेरि बहसमा आएको छ ।

ज्ञानेन्द्रले दरबार हत्याकाण्डको कुरा उठाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओलीले कडा प्रतिवाद गरेका
छन् । ओलीले दरबार हत्याको मुख्य योजनाकार दीपेन्द्रलाई मानिएको तथ्यलाई ठाडै अस्वीकार गरेका छन् ।

दरबार हत्यकाणबारे ज्ञानेन्द्रको अभिव्यक्ति आएको भोलिपल्ट अर्थात् आइतबार फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा ओलीले भने– ‘दीपेन्द्रले दरबार हत्याकाण्ड गर्‍यो भनेर यस्ता वाहियात कुराका पछाडि पनि नेपाली जनता कुद्नुहुन्छ ?’
दरबार हत्याकाण्डबारे ओली पछि प्रधानमन्त्री प्रचण्डले पनि मुख खोलेका छन् । सोमवार पर्सामा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्रीले दरबार हत्या प्रकरणलाई छानबिनको दायरामा ल्याउने बताए ।

उनले भनेका छन्– ‘पूर्वराजा (ज्ञानेन्द्र शाह) ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन् । दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ ।’

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति पछि यो विषय थप चर्चा र चासोमा देखिन पुगेको छ । सरकारले यस्तो हत्या प्रकरणको अनुसन्धान निष्पक्ष ढङ्गले गर्ला ? वंश नै नास हुने गरी भएको दर्दनाक घटनामा सरकारले छानबिनको हिम्मत गर्ला ? प्रश्न धेरै नै जटिल देखिन्छ । तर पनि प्रधानमन्त्री प्रचण्डले दरबार हत्या प्रकरणको अनुसन्धान गरिने दाबी गरेका
छन् ।

प्रधानमन्त्री प्रचण्डले २०८० जेठ ४ गते पनि दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए ।

२०८० जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए- ‘विगतका सबै बीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड । नेपालको इतिहासकै सबैभन्दा बीभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ ।’

दोस्रो पटक प्रधानमन्त्री भएको समयमा (२०७३ पुस ९ गते) पनि उनले दाङको घोराही पुगेर उच्चस्तरीय आयोग बनाई दरबार हत्याकाण्ड छानबिन गर्ने बताएका थिए ।

उनले भनेका थिए– ‘मैले पहिलो पटक प्रधानमन्त्री हुने बेला नै दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ भनेको हुँ, नारायणहिटी सर्वसाधारणका लागि खुला गर्ने क्रममा मैले जुन अभिव्यक्ति दिएको थिएँ, त्यहीअनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानबिन गर्छ ।’

त्यसअघि २०६५ फागुन १४ गते नारायणहिटी दरबार सङ्ग्रहालयको उद्घाटनका दिन पनि प्रचण्डले दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए । उनले भनेका थिए– ‘स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको हत्याको छानबिन सरकारले गर्छ ।’

बारम्बार यसबारे गर्ने भनेपनि कसैले हिम्मत गरेर यो फाइल खोल्ने प्रयास गरेको देखिँदैन । इतिहासको गर्भमा रहेको विषय खोतल्नु सामान्य विषय पक्कै होइन । यो विषयमा प्रचण्ड सरकारले छानबिन गर्ने हिम्मत गरेमा यसले ठूलो तरङ्ग पैदा गर्नेमा कुनै आशङ्का छैन ।

सत्तारुढ गठबन्धनको निष्कर्ष कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा अप्रत्याशित परिणाम आयो समिक्षा हुन्छ

१६ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकले कोशीमा सत्ता गठबन्धनको समर्थन रहेको माओवादी उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित र गम्भीर भनेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए ।

‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ, अझै छलफल हुनेछ’ उनले भने ।

कोशीको मतपरिणामलाई लिएर माओवादी केन्द्रको मात्र नभई सत्ता गठबन्धनमा रहेका अन्य दलको पनि चासो रहेको भन्दै नेता लेखकले यो विषयले यसले गठबन्धनमा प्रतिकुल असर नगर्ने बताए ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ ।

शनिबार राति उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजानी भएको हो ।

नगरपालिका–१ रामनगरमा उपमेयरकै घर अगाडि पार्किङ गरेर राखेको गाडीमा अज्ञात समूहले पेट्रोल छर्केर अगो लगाएका हुन् ।

अज्ञात समूहले गाडीमा पेट्रोल छर्केर अगाजनी गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवल बताए ।

अमेरिकाको फ्लोरिडा राज्यको ओकाला शहरस्थित एक सपिङ मलमा गोली चल्दा एक जना पुरूषको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यको ओकाला शहरस्थित एक सपिङ मलमा गोली चल्दा एक जना पुरूषको मृत्यु भएको छ।

शनिबार दिउँसो ओकालाको प्याडक सपिङ मलमा गोली चलेको सूचनापछि तत्कालै पुगेको प्रहरीले गोली लागेर एक पुरूषको मृत्यु भएको र एक जना महिला घाइते भएको अवस्थामा फेला पारेको हो।

ओकालाका प्रहरी प्रमुख माइक बल्केनले मलबाट कसैले फोन गरी कसैले लगातार गोली चलाइहेको सूचना दिएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी पुगेको बताए।

प्रहरी प्रमुख बल्केनले मलभित्र प्रवेश गर्दा त्यहाँ गोली चलिरहेको नपाइएपनि एकजना पुरूष मृत फेला परेको र महिला गोडामा गोली लागेको अवस्थामा घाइते भेटिएको बताए।

प्रहरीले ती महिलालाई तत्काल अस्पताल पुर्‍याएको थियो। उनी बाँच्ने सम्भावना रहेको बल्केनले सिएनएनलाई बताएका छन्।

प्रहरीले गोली चलाउने व्यक्तिलाई भने पक्राउ गरेको छैन।

मलमा रहेका मानिसहरूले बताएअनुसार ती वन्दुकधारी व्यक्तिले कालो जिन्स, कालो हुडी लगाएका थिए। उनले मुखमा पनि कालै कलरको मास्क लगाएका थिए। उनको खोजी भइरहेको प्रहरी प्रमुख बल्केनले बताएका छन्।

मलमा प्रवेश गरी ती व्यक्तिले चार राउन्ड गोली चलाएका थिए।

मलमा सपिङ गर्न आएकी एक युवतीले सिएनएनलाई बताएअनुसार बन्दुकधारीले मलमा प्रवेश गर्नासाथ गोली चलाएका थिए।

पहिलो गोली चलेको केही बेर रोकिएको र त्यसपछि लगातार तीनपटक गोली चलेको आवाज सुनिएको उनले बताएकी छन्।

गोली चलेपछि सपिङ मलका कर्मचारीहरूले त्यहाँ उपस्थित ग्राहकहरूलाई पछाडिको भागको ढोकाबाट बाहिर पठाएका थिए।

सपिङ मलले पनि विज्ञप्ति जारी गरेर घटनाबारे दुःख ब्यक्त गरेको छ। उसले अभियुक्त पत्ता लगाउन प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिएको छ।

बालुवाटारमा शीर्ष तीन नेताहरुको बैठक बस्यो

८ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।

महासमिति सदस्य मोतिराज बमको नाम राष्ट्रिय सदस्यमा सिफारिस

काठमाडौ । आगामी माघ १० गते हुन गईरहेको राष्ट्रिय सभा निर्वाचनको लागी सत्तारुढ दलहरुले गठवन्धन गरेर निर्वाचनमा जाने निश्चित देखिन्छ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसले कर्णालीबाट एक सिट पाउने छ । यसै क्रममा राष्ट्रिय सभा निर्वाचनको लागी जिल्लागत रुपमा सदस्यको नाम सिफारिस गरेर केन्द्रमा पठाउने क्रममा नेपाली काँग्रेस कालिकोट जिल्ला कार्य समितिले महासमिति सदस्य मोतीराज बमसहित पाँच जना र अन्य कलस्टरका गरी ९ जनाकोे नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

नेपाली काँग्रेस कालिकोट जिल्ला कार्य समितिले महासमिति सदस्य तथा आयुषराज मल्टिमिडिया प्रा. लि.का अध्यक्ष मातिराज बम सहित युवा नेता भुपेन्द्र जंग शाही, नेता कालिबहादुर सहकारी, जिल्ला पार्टी सभापति अम्मबहादुर शाही नेता बिष्णु बहादुर शाही रहेका छन् । त्यस्तै अन्य महिलाबाट अशोदा शाही र शुशिला बम दलितबाट मनबहादुर नेपाली र कर्णवीर टमट्टा रहेका छन् ।

कवि बम सहित वरिष्ठ साहित्यकार सम्मानित

काठमाडौ । मध्यपश्चिमाञ्चल साहित्य परिषदद्वारा विभिन्न बिधाका वरिष्ठ साहित्यकारहरु सम्मानित भएकाछन् । उहाँहरुलाई कार्यक्रमकि प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले खादा, प्रमाणपत्र र नगद पुरस्कार दिएर सम्मानित गर्नुभएको हो ।

प्रदर्शनी मार्ग स्थित पद्मोदय हाइस्कुलको सभा हलमा भएको उक्त कार्यक्रममा योगी नरहरिनाथ स्मृति वाङमय पुरस्कार र हरिप्रसाद मानकुमारी स्मृति पुरस्कार बाट वरिष्ठ साधक चुडामणि बन्धु, मध्यपश्चिम स्रष्टा सम्मान बाट वरिष्ठ कवि तथा निवन्धकार हरिहर अधिकारी श्यामल,आख्यानकार बलदेव शर्मा मज्गैया, प्राडा मिनबहादुर बिष्ट, इन्द्रमणी मानव स्मृति सम्मान बाट कवि तथा लोकसस्कृती अन्वेषक मोतीराज बम, लोकेन्द्र शाह स्मृति सम्मान बाट कवि तथा कथाकार अमर शाह, कालिदास जोशी स्मृति सम्मान बाट कवि तथा समालोचक डा. दिपक गौतम, प्रेमप्रकाश मल्ल स्मृति सम्मान बाट कवि तथा लोकसाहित्य अन्वेषक मनोहर लामिछाने, कृष्णसेन इच्छुक स्मृति सम्मान बाट प्राडा गोपिन्द्र पौडेल, नेत्रलाल स्मृति सम्मान बाट वरिष्ठ साहित्यकार गिरीराज शर्मा, त्यसैगरी मध्यपश्चिमाञ्चल साहित्य परिषदका सस्थापकहरु प्राडा केशव सुबेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्राडा मधुसूदन गिरी, भाषा आयोगका माननीय सदस्य द्वय अमर गिरी, उषा हमाल, समालोचक जीबेन्द्रदेव गिरी, कवि धनबहादुर वलि,वरिष्ठ गायिका कोमल वलि लगायतका मुर्धन्य साधकहरु सम्मानित हुनुभएको हो ।

२०५१ सालमा स्थापित मध्यपश्चिमाञ्चल साहित्य परिषदले हरेक बर्ष विभिन्न बिधाका साधकहरुलाई यसरी नै पुरस्कृत र सम्मानित गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ गायक अरुण शाह र कवि इन्दीरा शाहको पनि महत्वपूर्ण भूमिका रहेको थियो । समीर शाह सल्यानी माइलाले स्वागत मन्तब्य र हेम सुबेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

पत्रकार

कविता
हाँ लेखिएको भयो जो प्रमाण
त्यही बन्छ ठूलो भरोसा र आड
कहाँ लुक्न सक्थ्यो लुकाएर भार
चनाखो छ धेरै यहाँ पत्रकार ।१।
जरा फेद खोजी समाचार लेख्छ
लुकाएर राख्दा झनै प्रष्ट देख्छ
बुझी सत्य सारा नियालेर सार
चनाखो छ धेरै यहाँ पत्रकार ।२।
कहाँ लेक बेसी कहाँ हो तराइ
घुमेकै छ धर्ती समाचार पाई
म चौथो हुँ अङ्गै भनी बारबार
समाचार खोज्दै घुम्यो पत्रकार।३।
सधैं सूचनाले जगायो धरा यो
र गल्ती भएमा सतर्कै गरायो
जसै चुक्छ कोही भुली वारपार
समाचार टिप्दो भयो पत्रकार।४।
र साँचो र झूठो दुबै देख्नु पर्छ
नराम्रो र राम्रो सबै लेख्नु पर्छ
सबै तथ्य बुझ्दै खिचे आज सार
समाचार छाप्दो भयो पत्रकार।५।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा जारी गरेको छ । ढिलागरी मंसिर २२ गते जारी गरिएको मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले नीतिगतदरसँगै निक्षेप सकंलन बोलकबोल दरलाई समेत अधिकतम १.५ प्रतिशतले घटाएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फजाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएकोछ’ केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत भनेको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको जनाएको केन्द्रीय बैंकले यता बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतको रुपमासमेत शत प्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सो पश्चात उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने बताएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने बैंकले जनाएको छ ।  यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असूल गरी कर्जा पुनर्संरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने जनाएको छ ।

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले रु.२५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दु भन्दाबढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ । यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने बैंकले जनाएको छ ।

यस्तै, २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४०प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने समेत बैंकले जनाएको छ ।

यस्तो छ आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
१.बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितोकर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ ।

२.रु.५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशतकायम गरिनेछ ।
३.ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

४.लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामापरी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८०चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ ।

५.मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरुसम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने छ । केन्द्रीय बैंकले समीक्षामार्फत भनेको छ ।

पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमालिइएको कार्यदिशालाई थप लचिलो बनाइएको छ । यसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउनसहयोग पुग्ने अपेक्षा रहेको केन्द्रीय बैंकले जनाएको छ । आन्तरिक आर्थिक गतिविधि एवम्मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने समेत बैंकले जनाएको छ ।

सिफारिस