२२ मंसिर, काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका छन् । विहीवार साँझ उनले गभर्नर महाप्रसाद अधिकारीलगायत सम्पूर्ण सञ्चालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्थाहरु गर्न निर्देशन दिएका हुन् ।
अहिले सेयर धितो कर्जामा लगाइएको १५ तथा २० करोड रुपैयाँको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न अनुरोध गरेको उनले जानकारी दिए ।
‘अहिले बाह्य सूचक राम्रो भएकाले केही सहजता अपनाएर हेरौं । पछि समस्या पर्यो भने पुनः कसिलो बन्ने विकल्प छँदै छ भनेको छु,’ उनले भने ।
अहिले उद्यम व्यवसायमा मागको कमीका कारण ऋणको सावाँ ब्याज भुक्तानीमा समस्या भएको निजी क्षेत्रको माग छ । यसरी सावाँब्याज भुक्तानीमा समस्या भएका ऋणीहरुको ऋणको पुनःसंरचना गरिदिन पनि भनेको उनले बताए ।
अहिले मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बसिसरहेको छ ।










