काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।
विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा गायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ । ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ ।’










